मुस्ताङमा रु २९ करोडको स्याउ बिक्री News Updated By- Amrit Paudel    |   Posted From- Washington DC     |     November 23, 2015  
मुस्ताङ, ७ मङ्सिर -  जिल्लाका किसानले यस वर्ष रु २९ करोड बराबरको स्याउ बिक्री गरेका छन् ।
स्याउको राजधानी मानिने मुस्ताङमा गत वर्षभन्दा सात प्रतिशत स्याउको उत्पादन घटे पनि किसानले भने आकर्षक आम्दानी गर्न सफल भएका हुन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार चार हजार ७५० मेट्रिकटन स्याउ उत्पादन भएकामा तीन हजार ६०० मेट्रिक टन स्याउ बिक्री गरिएको थियो । किसानले बोटमा दाना लाग्नेबित्तिकै व्यापारीलाई प्रतिकिलो रु ८० का दरले ठेक्कामा बिक्री गरेका थिए ।

जिल्लाभरका किसानले स्याउ बिक्रीबाट रु २८ करोड ८० लाखभन्दा बढी आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, स्याउमा फूल र दाना लाग्ने बेलामा भारी हिमपात र अत्यधिक चिसोका कारण गत वर्षभन्दा स्याउको उत्पादन घटेको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार, गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । सबैभन्दा बढी मार्फा गाविसमा स्याउ उत्पादन भएको थियो । किसानले कम्तीमा रु १० लाखदेखि बढीमा रु एक करोडसम्म खुद आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको मार्फासहित जोमसोम, टुकुचे, कागबेनी, मुक्तिनाथ क्षेत्रलाई स्याउ उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । जिल्लाभर ९९७ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको छ ।

त्यसमध्ये ३३० हेक्टरबाट स्याउ उत्पादन भइरहेको छ । "एकै मौसममा राम्रो आम्दानी हुने भएपछि जिल्लाका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्" – योजना अधिकृत गुरुङले भन्नुभयो । रासस
- See more at: http://dcnepal.com/news/news.php?nid=177149#sthash.CBmX37jT.dpuf

Post a Comment

 
Top