काठमाडौं, ६ मंसिर । एकीकृत नेकपा माओवादी परित्याग गरेर ‘नयाँ शक्ति निर्माण अभियानमा’ लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका लागि केही गरौं भनेर नै आफू नयाँ अभियानमा लागेको बताएका छन् ।
‘नयाँ शक्ति निर्माण अभियान’को उद्घाटन शत्रलाई आईतबार राजधानीमा संवोधन गर्दै भट्टराई देशको आर्थिक संवृद्धि र दीगो विकासका लागि नयाँ शक्तिको आवश्यकता रहेको प्रष्ट्याए ।
व्यक्तिगत रुपमा आफ्नो कुनै स्वार्थ नरहेको भन्दै उनले देशका लागि केही गर्न चाहेको बताए । ‘म गोरखाको खोप्लाङमा जन्मिएको गरीबको छोरो एउटा गोठालो हुँ । प्रधामन्त्री बनिसकेँ, मलाई त्यहाँभन्दा माथि पुग्नुछैन,’ भावुक हुँदै भट्टराईले भने, ‘देशको सेवा गरौं भनेर नै अभियानमा लागेको हुँ ।’
‘म ६० वर्षको भएँ । त्यही पनि देशका लागि केही गर्छु, देशलाई विकासमा लान्छु भनेर लागेको छु । तपाईंहरु त झन युवा हुनुहुन्छ,’ उपस्थित युवा नेता कार्यकर्तालाई जोस्याउँदै बाबुरामले थपे ।
यो पार्टी घोषणा होइन, जगैदेखि नयाँ बनाउन चाहन्छौं - उद्घाटन शत्रलाई सम्बोधन गर्दै भट्टराईले यसै कार्यक्रमलाई पार्टी घोषणाको रुपमा नबुझ्न आग्रह गरे । ‘यो अहिले नै नयाँ पार्टीको घोषणा होइन, यो त अभियानको सुरुवातमात्रै हो,’ भट्टराईले भने, ‘अब अभियान लिएर जनतामा जान्छौं, सबै जनताको भावना समेटेरमात्रै नयाँ शक्तिको घोषणा हुन्छ ।’
नयाँ शक्तिलाई ‘सत्य स्थापित गर्ने सत्ताको खोजी’को रुपमा प्रष्ट्याउँदै भट्टराईले समावेशी, समानुपातिक र समानतामूलक लोकतन्त्र नयाँ शक्तिको मूल सिद्धान्त हुने बताए ।’ कोठामा बसेर दस्तावेज तयार गर्दैमा नयाँ शक्ति निर्माण नहुने भन्दै उनले देशव्यापी रुपमा अभियान चलाउने बताए ।
‘यो बाबुरामकोमात्रै नयाँ शक्ति होइन, मेरोमात्रै भएर हुँदैन । सबै जनताको भावना समेटेर सबैले अपनत्व महसुस गर्ने एजेण्डासहित नयाँ पार्टी बनाउनु पर्छ,’ उनले भने । साथै भट्टराईले नयाँ शक्तिमा पूर्वमाओवादीमात्रै नभएर सबैलाई समेट्ने बताए ।
‘कम्युनिष्टका १५/१६ वटा पसल त पहिलैदेखि नै छन् । माओवादीहरुकै ५/६ वटा पसल भइसक्यो । कागलाई बकुल्लाको प्याँख हालेरमात्रै नयाँ बन्दैन’ बाबुरामले भने, ‘केही गर्न चाहने सबैलाई समेटेर साँचै नयाँ शक्ति बनाउँछौं ।’
‘दर्शन मानिसभन्दा पहिले जन्मिने होइन, यो मानिसले नै विकास गर्ने हो,’ भन्दै बाबुरामले वाद जुनसुकै भएपनि प्रत्येक व्यक्ति सुखी र संवृद्ध हुनुपर्ने बताए ।
लोकतन्त्रलाई स्थापित गराउन अहिलेसम्म खेलेको भूमिकाका लागि काँग्रेस, एमाले र एमाओवादीलाई धन्यावाद दिनुपर्ने उनको भनाई थियो ।
मधेसका समस्या तत्काल संबोधन गर्नुपर्छ - भट्टराईले तराई मधेसमा जारी आन्दोलन र उनीहरुका मागलाई संबोधन गरेर जतिसक्दो छिटो संकटको समाधान गर्नुपर्नेमा जोड दिए । मधेसमा जारी आन्दोलन आन्दोलनकारी शक्तिको हातबाटसमेत फुत्किने अवस्थामा पुगिसकेकोतर्फ ध्यानाकर्षण गराउँदै भट्टराईले सबै पक्ष गम्भीर भएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।
‘म संवैधानिक समितिको सभापति हुँदा संविधानमा सकेसम्म त्रुटी नहोस् भनेर पहल गरेँ । सामाजिक सञ्जालबाट पनि पटक-पटक ध्यानाकर्षण गराएँ । त्यतिबेला मलाई बद्नाम गर्न खोजियो,’ विगत सम्झिँदै बाबुरामले भने, ‘हिजो भएका सम्झौताहरु लागु गरेर मधेसको असन्तुष्टिलाई सम्बोधन गरिनुपर्छ ।’
त्यसका लागि एउटा नागरिकको भूमिकामा आफूले गर्न सक्ने जस्तोसुकै सहयोगका लागि तयार रहेको उनको भनाई थियो ।
Google +
-
Post a Comment