![]() |


डोटी, मंसिर – भाउजु नाता पर्ने एक महिलालाई वेचविखन गर्न खोजेको अभियोगमा डोटीको लक्ष्मीनगर ४ का निर्मल भनेर चिनिने नारायण बोहराविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा शुक्रबार उजुरी परेको छ ।
बोहराले आफूलाई भारतमा बेच्न खोजेको आरोप लगाउदै एक महिला (नाम गोप्य राखिएको)ले प्रहरीमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन अनुसार मुद्दा दर्ता गराएकी हुन् ।
घटना गत वर्षको भए पनि आरोपित फरार रहेको र यस वर्षको तिहारमा घर आएको मौका पारी पीडितले प्रहरीलाई जानकारी गराएका आधारमा ईलाका प्रहरी कार्यालय जोरायलले बोहरालाई पक्राउ पनि गरेको छ ।
प्रहरीका अनुसार गएको बर्ष २०७१ श्रावण २ गते माईती घर जाँदै महिलालाई बिच बाटोमै बेहोश हुने औषधी खुवाएर भारतको नोयडा पुर्याएको उजुरीमा उल्लेख छ ।
ती महिला माईती घरमा नपुगेपछि खोजबिनका लागि प्रहरी, माईती नेपाल कञ्चनपुर, र माईती भारत नामक संस्थालाई फोटो, हुलियासहित जानकारी गराउँदा उनीहरुको सहयोगमा पीडित महिलालाई झण्डै डेढ महिनापछि २०७१ भदौ १८ मा नेपाल ल्याईएको महिलाको पारिवारिक श्रोतले जनाएको छ ।
घटनापश्चात बोहराले फोनमार्फत बेला–बेलामा विभिन्न धाकधम्की समेत दिँदै आएको र अहिले आरोपित बोहराका घरपरिवारले पैसा दिएर मिलाईदिने आग्रह गरिरहेको पीडित महिलाका आफन्तले बताएका छन् ।
आरोपीलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम कारवाहीको माग गरिएको छ । बोहराविरुद्ध मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर चन्दले बताउनुभयो ।
![]() |

Post a Comment