![]() |
१२ र ८ पटकसम्म लाइसेन्स फेल भएकाको परीक्षा दिँदै थिए टिचिङका डाक्टर (नामसहित)

![]() |
काठमाडौं- त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सकले नक्कली परीक्षार्थी बनेर नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा यसअघि १२ पटकसम्म फेल भएकाको परीक्षा दिइरहेको पाइएको छ ।
काउन्सिलले शनिबार लिएको परीक्षामा पक्राउ परेका दुई नक्कली परीक्षार्थीमध्ये एक जनाले लाइसेन्स परीक्षामा १२ औ पटक सम्म अनुतीर्ण भएका व्यक्तिको र अर्का एक जनाले ८ पटकसम्म अनुर्तीर्ण भएकाको परीक्षा दिदै थिए ।
नक्कली परीक्षार्थी फेला परेपछि महानगरिय प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चिनमा अध्ययन गरेर आएका दुई जना विद्यार्थीले लाइसेन्स परीक्षामा नाम निकाल्न नसकेपछि टिचिङका दुई जना डाक्टरले आफैँ परीक्षार्थी बनेर जाँच दिन पुगेका थिए ।
रौतहटको खेसरीया–७ का सरोज साहले चिनको सिचुवान विश्वविद्यालयबाट सन् २००७ मा एमबिबिएस सिध्याएका थिए । त्यसयता उनले नेपाल फर्केर काउन्सिलको लाइसेन्स परीक्षामा १२ पटक सहभागिता जनाइसकेका छन् । तर उनी उत्तिर्ण हुन सकेका छैनन् ।
१२ औँ पटक पनि उत्तिर्ण नभएपछि उनले यसपटक चिकित्साशास्त्र अध्ययन संस्थान ( आइओएम) महाराजगञ्ज क्याम्पसमा एमविविएस अध्ययनरत इन्टर्न विद्यार्थी नीरज शर्मालाई आफ्नो नाममा परीक्षा दिन पठाएका थिए । शर्मा टिचिङ अस्पतालमा इन्र्टन गर्दैछन् ।
यसैगरी, चिनमा नै अध्ययन गरेर फर्केका अर्का विद्यार्थी नविन कुमार यादव पनि काउन्सिलले लिएको परीक्षामा ८ पटक सम्म फेल भैसकेका छन् । सिरहाका यादवले चिनको छोङजिङ विश्वविद्यालयबाट एमबिबिएस अध्ययन गरेका थिए । यादवको नाममा परीक्षा दिने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. शुसिल मण्डल हुन् । उनको काउन्सिल दर्ता नम्बर १४२६० हो । मण्डलले आइओएमबाट एमबिबिएस उत्तीर्ण गरी सन् २०१३ मा काउन्सिलबाट लाइसेन्स लिएका हुन् ।
स्वयम्भुस्थित नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजको आर्मी प्रतिष्ठानमा शनिबार विहान ९ बजे देखी सुरु हुने परीक्षाका लागि आइओएमका विद्यार्थी शर्मा र डा मण्डलले क्रमस साह र यादवको प्रवेशपत्रमा आ–आफ्नो फोटो टासेर हल भित्र छिरेको प्रहरीले जनाएको छ । परीक्षामा खटिएका कर्मचारीले प्रवेशपत्र संकास्पद मानेपछि थप छानवीन गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको पत्ता लागेको प्रहरीले जानकारी दियो । प्रहरीले पक्राउ गरेका नक्कली परीक्षार्थीलाई काउन्सिलले आज कारबाही गर्ने भएको छ । काउन्लिले कारबाहीको निर्णय आज सार्वजनिक गर्ने जनाएको छ ।

![]() |


Post a Comment