![]() |
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेस आन्दोलन राजनीतिक नियन्त्रण बाहिर जाने खतरा बढेको बताएका छन्। शनिबार राजधानीमा संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले मधेस आन्दोलनमा जुन शैली र प्रवृत्ति देखिएको छ। त्यसले यो राजनीतिक नियन्त्रण बाहिर जाने खतरा रहेको औंल्याए । उनले तराई मधेसमा जारी आन्दोलनले अराजकता निम्तिने भन्दै डरलाग्दो दुर्घटना आउनसक्ने बताए। यसैबीच समस्या समाधानका लागि बेलैमा सम्बोधन गर्न दलहरुलाई अनुरोध पनि गरेका छन्। ‘तराई मधेस आन्दोलनमा पछिल्ला दृश्यले आन्दोलन मधेसी दलको कमान्डबाट बाहिर जाने खतरा देखिदैछ,’ भट्टराईले भने, ‘त्यो अवस्था निकै अराजक हुनेछ।’भट्टराईले मधेस आन्दोलनको समाधान खोज्ने र नाकाबन्दीलाई हटाउनका लागि कुटनीतिक पहल गर्ने दिशामा सरकार उदासिन देखिएको आरोपसमेत लगाए। वार्ताको पहल सरकार र सरकारमा रहेका दलहरुले लिनु पर्ने भन्दै उनले सहयोग आफू तयार रहेको बताए। ‘यो हाम्रो देशको आफ्नो समस्या हो र आफैंले हल गर्नुपर्छ । त्यसका निम्ति म जुनसुकै भूमिका निर्वाह गर्न, सहयोग गर्न म तयार छु’, भट्टराईले भने। भट्टराईले संविधान जारी गर्ने बेलामा नै आफूले सचेत गराएको तर, ठूला नेताहरुले नसुनेको गुनासो पोखेका छन्। संविधान कुनै एक पक्षले भने जस्तो नहुने भएपनि समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा प्रतिनिधित्व र संघीय प्रदेशको सीमांकन विगतका सहमति भन्दा फरक भएको उनले बताए ।
नयाँ शक्ति निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानमा जुट्न सबैलाई अपिल गरेका छन् । सञ्चारकर्मीहरुलाई बोलाएर शनिबार राजधानीको बानेश्वरमा ‘नयाँ शक्ति अभियान’ले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले देशको विकासका लागि नयाँ शक्ति निर्माण अपरिहार्य भएकाले यसमा जुट्न सबैलाई आग्रह गरे ।‘पुरानो विचार र वाद बोक्ने पार्टीहरुले अब केही गर्नेवाला छैनन्,’ भट्टराईले नयाँ शक्ति अभियानमा जुट्न उद्घोष गर्दै भने,‘अब देशको आर्थिक सामाजिक रुपान्तरण गर्ने भनेको नयाँ शक्तिले मात्रै सम्भव छ । त्यसैले म सबैलाई यसमा जुट्न अपिल गर्न चाहन्छु ।’
भट्टराईले अब बन्ने नयाँ शक्ति नेपालको माटो सुहाउँदो हुने समेत बताएका छन् । ‘तपाईंहले अब बनाउने पार्टी कम्युनिष्ट हुन्छ कि डेमोक्र्याट भन्ने पत्रकारको जिज्ञासामा भट्टराईले भने, ‘सबैसँग राम्रो कुरा सिक्ने कोसिस गर्छौं । सबैसँग छलफल गरेर यसको टुंगो लगाउँछौं । हामी अहिले नै कुन वाद भनेर सुरु गर्दैछैनौं ।’ भट्टराईले लक्ष्य खुट्याएर प्राप्त गर्न खोजेको विषयको टुंगिए पछि मात्रै कुन विचार र राजननीतिक चिन्तन आवश्यक हुन्छ भनेर निष्कर्ष निस्कने स्पष्ट पारे । भट्टराईले भट्टराईले विचार र राजनीतिक चिन्तनबारे टुंगो लागेपछि मात्रै पार्टी घोषणा हुने समेत बताए । यसरी वृहत छलफल गरेर देश सुहाँउदो वादको विकास गरेर बन्ने पार्टी जरुर नयाँ शक्ति हुने दाबी भट्टराईको थियो । ‘नेपाल सुहाउँदो वादको विकास गरौं । त्यसले नै नयाँ शक्ति बन्छ’, भट्टराईले भने ।
भट्टराईले हतारमा नयाँ पार्टी खोल्ने पक्षमा नरहेको जानकारी दिँदै केही महिना यो अभियान देशभरी चलाइने बताए ।
पुरानो वादको अब काम छैन - भट्टराईले पुरानो वाद र विचारले कही नपुगिने भएकाले अब नयाँ विचार र वादको अपरिहार्यता भएको औल्याए । भट्टराईले त्यसका लागि सबैको सोच्ने शैलीमा समेत परिवर्तन आउनु पर्ने सुझाव दिए । ‘पुरानो वादलाई बोकेर कहीँ पुगिन्नँ । नयाँ शक्तिले सोच्ने शैलीलाई पनि बदल्न चाहन्छौं,’ कार्यक्रममा भट्टराईले भने ।
भट्टराईले अहिलेको परिवर्तनको जगमा टेकेर मुलुकलाई आर्थिक विकास र संवृद्धिको दिशामा पुर्याउने कार्यभार भएको विचार राख्दै त्यसका लागि अन्य विचार निषेध नगरेर राम्रा कुरा ग्रहण गरेर अघि बढिने बताए ।
शहीदको भावनाको सम्मान गर्न कै लागि नयाँ शक्ति - यसैबीच, भट्टराईले ००७ सालदेखि अहिलेसम्म भएका राजनीतिक आन्दोलनका शहिदहरुको भावनाको सम्मान गर्नकै लागि नयाँ शक्ति बन्न लागेको दाबी गरे । जनयुद्ध र जनआन्दोलनको शहीदमाथि तपाईंहले अपमान गर्नुभएको हो भन्ने पत्रकारको जिज्ञासामा भट्टराईले ००७ सालदेखि भएका सबै शहीदहरुको सम्मान गर्दै नयाँ शक्ति अघि बढ्ने स्पष्ट पारे । ‘उनीहरुको सपना पूरा गर्नकै लागि नयाँ शक्ति बनेको हो । उहाँहरुको अपनमान गर्ने हाम्रो मनसाय छैन,’ भट्टराईले कार्यक्रममा भने ।
नयाँ शक्तिले श्रृजनशील कार्यकर्ता उत्पादन गर्ने - भट्टराईले अब बन्ने नयाँ शक्तिका नेता र कार्यकर्ता आफ्नो श्रममा विश्वास गर्ने सिर्जनशील हुने बताए । विकासमुखी राजनीति गर्ने भएकाले उत्पादन र श्रमसँग जोडिएका कार्यकर्ता विकास गर्ने भट्टराईको तर्क थियो ।
मधेस आन्दोलन अराजकतातिर गयो, समाधान तत्काल खोजौं - भट्टराईले मधेस आन्दोलन अराजकतातिर गएकाले तत्काल समाधान खोज्नु पर्ने बताएका छन् । भट्टराईले औषधि जलाउने, एम्बुलेन्स तोडफोड गर्ने जस्ता काम राजनीतिक आन्दोलनबाट हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
भट्टराईले छठपछि मधेस आन्दोलन समाधानका लागि केही प्रगति हुने आसा पलाएको भए पनि अवस्था झनै भयाबह बन्दै गएको बताए । उनले वार्ता र संवादमार्फत छिटोभन्दा छिटो समस्याको निकास खोज्न समेत आग्रह गरे । ‘ मधेस आन्दोलन आन्दोलनकारीको हातबाट फुत्कँदैछ र अराजक तत्वको हातमा जाने खतरा बढेर गएको छ’ भट्टराईले भने ‘सबैले आ-आफ्नो गल्ती स्वीकार गरेर गम्भीरतापूवर्क वार्तामा बस्न अब ढिलो गर्न हुँदैन ।’
नयाँ शक्ति अभियन्ताहरुको भेटघाट भोलिबाट - यसैबीच अभियानले नयाँ शक्ति अभियानलाई तीव्रता दिन नयाँ शक्ति अभियानको अभियन्ताहरुको भेटघाट भोलिबाट सुरु गर्दैछ । नयाँ शक्ति निर्माणबारे स्पष्ट पार्न यस्तो भेटघाट राखिएको अभियानले जनाएको छ । अभियानले अन्य नेता तथा कार्यकर्तालाई क्रमशः प्रशिक्षण दिने कार्यक्रमसमेत तय गरेको छ ।
Google +
![]() |

Post a Comment