मिस वर्ल्डमा नेपालीले पाएको दु:खबारे जानकारी गराउँछु : मिस नेपाल

मंसिर २, २०७२- मिस नेपाल इभाना मानन्धरले चीनमा हुन लागेको मिस वर्ल्डमा नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउने बताएकी छिन् । ५ फिट ४ इञ्च अग्ली इभानाले मिस नेपालको हैसियतमा मिस वर्ल्डका लागि देशको प्रतिनिधित्व गर्दैछिन् ।
१ सय ३० भन्दा बढी देशका सुन्दरीहरु सहभागी हुने उक्त प्रतियोगितामा भाग लिन उनी आउँदो शनिबार चीनको सान्यमा जाँदैछिन् । आगामी पुस २ गते हुने फाइनल तयारीको लागि सान्य जान लागेको बताउँदै उनले भनिन्, 'फाइनल हुनुअघि १ महिना विभिन्न प्रतिस्पर्धाहरु हुन्छन् त्यसैमा भाग लिन म जाँदै छु ।'
अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभानाले प्रतिस्पर्धामा नेपालको बारेमा विभिन्न जानकारी गराउने बताइन् । उनले भनिन्, 'म नेपाली नारीका रूपमा सक्दो मिहिनेतका साथ मिस वर्ल्डमा प्रस्तुत हुनेछु । नेपालको शिक्षा, स्वास्थ्य, बालबालिका, महिलाहरुको इस्यु उठाउनेछु र नेपाललाई जसरी भएपनि विश्वसामू चिनाउने कोशिस गर्नेर्छु ।'
उनले फाइनअघि हुने १ महिनाको अवधि र फाइनलको दिनमा नेपालको पर्यटन, अहिलेको राजनीतिक अवस्था, भूकम्पले पारेको क्षति र नेपालीहरुले नाकाबन्दीले पाएको सास्तीबारे पनि जानकारी गराउन बताइन् । उनले भनिन्, 'ताज जित्ने नजित्ने भन्दापनि नेपालकोबारेमा केही नकेही चिनो छाड्ने छु । म व्युटी विथ पर्पोसका साथ सान्य जाँदैछु । त्यसैले ताज जित्नु भन्दापनि नेपालको चिनारी नै मेरो पहिलो प्राथमिकतामा परेको छ ।'
अमेरिकामा मार्केटिङमा स्नातक गरेकी इभानाले भूकम्पपछि नेपाल सुरक्षित छैन भन्ने सन्देश गएकोले नेपाल सुरक्षित छ भन्ने सन्देश दिने पनि बताइन् । उनले भनिन्, 'जसरी भएपनि मेरो प्राथमिकता नेपालको इकोनोमीलाई बुस्ट गर्नेमा नै रहने छ । जहाँजतिखेर बोल्ने मौका पाउँछु म नेपालको छाप छोडिहाल्छु ।'
गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् ।
प्रकाशित: मंसिर २, २०७२


http://bit.ly/1LlqKiv

Post a Comment

 
Top