मोर्चाका कार्यकर्ताद्वारा कर्फ्यु उल्लंघन गर्दै रातभर प्रदर्शन, नापी कार्यालय र गाडीमा आगजनी
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     November 24, 2015  
सप्तरी, ८ मंसिर - मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यु उल्लंघन गर्दै गएराति पनि सप्तरीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

आन्दोलनकारीले सदरमुकाम राजविराज, भारदह र रुपनीका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्। आन्दोलनकारीले प्रदर्शनकै क्रममा गएराति राजविराजस्थित नापी शाखा कार्यालयमा आगजनी समेत गरेका छन्। आगजनीबाट कार्यालयमा सामान्य क्षति पुगेको छ भने कार्यालय परिसरमा राखिएको बा१झ ३४०९ नम्बरको जीप जलेर ध्वस्त भएको छ।

यसअघि आन्दोलनकारीले राजविराजस्थित भूमि सुधार कार्यालय, राजविराज भन्सार कार्यालय र राजविराजस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका थिए। आगजनीबाट तीनै कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

मोर्चाका कार्यकर्ताले हिजो दिनभर पनि सप्तरीका विभिन्न स्थानमा उग्र प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाईते भएका छन्। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सदरमुकाम राजविराजका साथै भारदह र रुपनी क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ। यद्यपी प्रदर्शनकारीले कर्फ्फ्युको बेवास्ता गर्दै आएका छन्।

प्रदर्शनकारीले राजविराजमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा समेत ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। यस्तै घुमुवा प्रहरी चढेको को३प ३१३६ नम्वरको मोटरसाईकल तथा कोईलाडी वरसाईनस्थित प्रहरी चौकीमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए।

उता, प्रहरीले गत आईतवार स्वास्थ्यकर्मीलाई दुर्ब्यवहार गरेको भन्दै राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको आकस्मिक सेवा हिजोबाट टेण्टमा सञ्चालन गरिएको छ। अस्पतालका अन्य सम्पूर्ण सेवा ठप्प छन्।
- See more at: http://dcnepal.com/news/news.php?nid=177407#sthash.8pX6EObV.dpuf

Post a Comment

 
Top